सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ।
यसअघि यही मङ्सिर १७ गते बसेको बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीलाई लान लागिएको हो। स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए।
यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ।