२८ बैशाख २०७४ चितवनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गरे । । स्थानीय तहको निर्वातनको चटारो थियो त्यो बेला । कांग्रेस–माओवादीको चुनावी गठबन्धन गरेर मैदानमा उत्रिएका थिए ।
संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालिन माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस र माओवादीको गठबन्धन नयाँ राजनैतिक प्रयोग र कठोर गठबन्धन भएको बताए । त्यतिमात्र होइन उनले बाह्रबुदे सहमतिसँगै बृहद शान्ति सम्झौताबाट नयाँ युग सुरु भएको बताए ।
‘कांग्रेसले गिरिजाप्रसाद कोईराला जस्तो नेता नजन्माएको भए र माओबादीले प्रचन्ड जस्तो नेता नजन्माएको भए यो नयाँ प्रयोग सम्भव थिएन’, उनले भनेका थिए, कहिले काहीं नेताहरुले अनौठो निर्णय गर्छन् । कहिलेकाही मानिसहरुलाई अनौठो लाग्ने खालका निर्णय पनि गर्छन् । तर त्यसो गर्दा राष्ट्रको र जनताको हितमा नै उनीहरुले ध्यान केन्द्रित गरेका हुन्छन् ।
दाहालले यति भनेपछि सभापति देउवा पनि के कम उनले पनि साथ दिए । देउवाले प्रान्तीय र केन्द्रीय निर्वाचनमा पनि कांग्रेस माओवादी गठबन्धन कायमै रहने दाबी गर्न भ्याए । स्थानीय निकायको निर्वाचनमा मात्रै कांग्रेस र माओवादीको गठबन्धन नभएको उनको भनाइ थियो ।
देउवाको भनाइ थियो, ‘अहिले हाम्रो संयुक्त सरकार छ। यो सरकार स्थानिय चुनाव मात्रै होइन प्रान्तिय र केन्द्रीय निर्वाचनसम्म जानेछ, त्यसपछि पनि जान्छ।’ बाह्रबुँदे सहमतिले आज नेपालमा स्थायी शान्ति ल्याएको र संघिय लोकतान्त्रिक गणतन्त्र दिएको उनको भनाइ थियो ।
चितवनमा दाहाल पुत्री रेणलाई जिताउन अनेक हर्कत भए । कांग्रेसले साथ मात्रै दिएन काँध नै थाप्यो । उनले चुनाव जितिन् ।
तर देउवाले दाबी गरेजस्तो गठबन्धन भने कायम रहेन । प्रतिनिधि र प्रदेशसभाको चुनावमा दाहालले बाटो फेरे । उनले तत्कालिन नेकपा एमालेसँग चुनावी गठबन्धन गरे । गठबन्धन मात्र होइन पार्टी एकता भएर नेकपा बन्यो । गठबन्धनले अभूतपूर्व मत पायो । दुई तिहाइ नजिकको बहुमतले नेकपा सरकारमा गयो । केपी शर्मा ओली शक्तिशाली सरकारका प्रधानमन्त्री भए । तर समय एकनासको हुँदैन । दाहालकै शब्दमा अहिले ओलीले धोका दिए । पार्टीको विवाद विभाजनको सँघारमा छ ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला त्यसका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवासंग गरेको भेटका विषयलाई लिएर राजनैतिक वृत्त तातिएको छ । मूख्य विषय हो सत्ता साझेदार । यसबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । ओलीले इतर समूहलाई तर्साउन देउवासँग यस्तो कुरा गरेको कतिपयको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढ घण्टा भएको भनिएको भेटका सन्दर्भमा कांग्रेस सभापति देउवा वा स्वयं प्रधानमन्त्री ओलीमात्र हैन, उनीहरुका सचिवालयसहित कसैले मुख नखोल्नुले त्यस वार्तालाई थप रहस्यमय बनाएको छ । नेकपा फुट्ने अवस्थामा सत्तासाझेदारीको प्रस्तावलाई देउवाले मौन समर्थन जनाएको अनुमानमा बल पुर्याइरहेको देखिन्छ ।
आफ्नै पार्टीभित्रबाट सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका देउवाले सुटुक्क ओलीलाई भेट्नु अर्थपूर्ण भने पक्कै छ । ओली अहिले आफ्नो पार्टीभित्र सचिवालयदेखि स्थायी समिति हुँदै केन्द्रीय कमिटीसम्मै अल्पमतमा छन् । आफ्नै पार्टीभित्रको विरोधी समूहलाई तर्साउनका लागि मात्रै ओलीले देउवासंग भेट गरेको हुनसक्ने नेकपाका कतिपय नेताहरुको बुझाइ छ । यस विषयमा मौन बसेरे भए पनि देउवाले ओलीलाई साथ दिएका छन् ।
अहिलेसम्म प्रतिपक्षको भूमिकामा देउवाले प्रम ओलीलाई ठुलै गुन लगाएका छन् । देउवाले प्रचण्डलाई विगतमा धोकाधडी गरेको भन्दै झड्का दिएको बुझ्न सकिन्छ ।
वैशाखमा त ओलीसँग प्रचण्डले राजीनामा नै मागेका थिए । तर, ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजनसम्मको रणनीति चाले । देउवाको साथ पनि ओलीलाई नै हुने सम्भावना भएपछि प्रचण्ड पछि हट्नुपरेको थियो ।
अहिले फेरि देउवाले ओलीलाई नै साथ दिने संकेत दिएका छन् । देउवा प्रचण्डसँग चिढिएका छन् । गत स्थानीय निर्वाचनमा देउवा र प्रचण्डबीच गठबन्धन बनेको थियो । संसदीय चुनावमा पनि मिलेर जानेबारे कुराकानी भएको थियो । तर, स्थानीय चुनावमा फाइदा लिएर प्रचण्डले ओलीसँग हातेमालो गरे । यसले देउवालाई नराम्रो झड्का दियो । देउवा पार्टीभित्र पनि आलोचित भए ।
देउवाले प्रचण्डबाट धोका पाए । ओलीसँग मिलेर प्रचण्ड चुनाव लडे । दुवै दलको मिलाएर बहुमत पनि आयो । यसपछि देउवा निकै कमजोर भए । देउवाले प्रचण्डसँग विगतको बदला लिइरहेका छन् ।