प्याज किलोको १ सय ३०, आलु प्रतिकिलो सय रुपैयाँ, टमाटर एक किलोको ८०, काउली सय, हरियो धनिया साढे तीन सय, साग ९० रुपैयाँ प्रतिकिलो। यो हो काठमाडौंको स्थानीय बजारमा आजको तरकारीको भाउ। यो मूल्य ठाउँअनुसार अझैं बढी पनि हुनसक्छ। बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोई नसक्नु छ ।
यो मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तोकेकोभन्दा केही मात्रै बढी हो। बजारमा कालीमाटीकोभन्दा तीसदेखि साठी प्रतिशतसम्म महँगोमा विभिन्न व्यापारीहरुले बेचिरहेका हुन्छन्। पसलैपिच्छे मूल्य फरक हुन्छ। ग्राहकैपिच्छे फरक मुल्य लिइन्छ। तरकारीको मात्रै होइन दैनिक खाद्यान्नमा पनि अवस्था यो भन्दा भिन्न छैन। मूल्यमा एकरुपता छैन।महँगीले आकास छोएको छ।
भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ । हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ ।
केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ । खुद्रामा त १ सय ८० सम्म पर्छ।
उपभोक्ता अधिकारकर्मीहरु सरकारको बजार अनुगमनले साना व्यापारीबाट राजस्व उठाउने र ठूला व्यापारी एवं उद्योगीलाई संरक्षण गर्नेबाहेक अन्य कुनै काम हुन नसकेको आरोप लगाउँछन् । दशैँको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको र चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार चुकेको उनीहरुको भनाइ छ । चाडवाडका नामा बजार अनुगमनलाई तिब्रता दिइएको देखिए पनि त्यसले ठूला व्यापारीलाई छुन नसकेको स्पष्टै छ।
मन्त्रीको झुटो दाबी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको जिकिर गर्छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको जिकिर गरे। उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे।
उनले भने, ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ। त्यसैले कहीँ पनि समस्या आएको छैन। केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी उपभोग्य वस्तुहरुमा महँगाइ भन्ने छैन। अब एकाध वस्तुमा हुने स्वभाविक हो। हिजो पनि हुन्थ्यो।’
माथिका तथ्यले मन्त्रीको दादबीलाई झुटो सावित गरिसकेको छ। कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएका छन्। कतिपय घरबहाल तिर्नै नसकेर सडकको बास बसिरहेका छन्। यस्तो बेला बढेको महँगीले मानिसहरुलाई थप आहात दिएको छ। सीमित आम्दानीमा घरबहाल र खानेखर्च जुटाउन मानिसहरुलाई मुस्किल भएको छ। एउटा सामान्य मजदूरले दिनभर काम गरेर पाँच, छ सय ज्याला पाउँछ। अहिलेको महँगीमा पाँच, छ सयले कसरी हातमुख जोर्नु? के ले कोठाभाडा तिर्नु? कसरी घरपरिवारको खर्च धान्नु?
दैनिक ज्यालामा काम गर्ने मजदुरको चुलो कसरी बलिरहेको छ? सरकारलाई सोच्ने फुर्सद कहाँ छ र ? मन्त्रीलाई सजिलो छ मन्चमा भाषण गर्न र भन्न महँगी बढेको छैन। महँगीले गरिब जनताको ढाड सेकेको मन्त्रीलाई कसले सुनाइ दिने? चुलो बल्न छोडेको कसले भनिदिने? त्यसैले मन्त्री ज्यू, तपाइँ नै एक पटक मजदुरको भान्सामा पुग्नुस्। गरिबको झुपडीमा छिर्नुस्। त्यहाँ देखिने छ, मूल्यवृद्धि र महँगी।