कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।
उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।
चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।
भदौ १५ गते शान्ता चौधरीले फेसबुकमा २ तस्विर राख्दै आफू दमको पुरानो रोगी भएतापनि कोरोनाको डरले अस्पताल नगइ घरमा नै उपचार गराइरहेको बताएकी थिइन् ।
पछिल्लो समय सांसद चौधरी मात्र होइन आम मानिसहरु पनि अस्पताल जान डर मानिरहेको देखिन्छ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा दैनिक वृद्धि हुन थालेपछि आम मानिसहरुमा डर पैदा हुनु स्वभाविक पनि हो ।
१८ वर्ष कमलरी बसेकी शान्ताले सांसद भएपछि औपचारिक अध्ययन शुरु गरेकी थिइन् । शान्ताको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक चर्चित छ ।
दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ३९ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्। शान्ताले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी हुन्।उनले २०७६ सालको एसएलसी परीक्षा बी ग्रेडमा उत्तिर्ण गरेकी थिइन् ।