सांसद शान्ता चौधरी दम रोगले ग्रसित भएपछि अहिले घरमै उपचार गराइरहेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर र भिडियो राख्दै सांसद चौधरी लेख्छिन् “आजभोली मेरो स्वास्थ्यले निकै दु:ख दिन थाल्यो सँधै यो “नेबुलाइजर” को साहारामा बस्नुपर्ने भएको छ । अस्पताल जाउँ नयाँ रोग कोरोना बोकेर आइएला भन्ने डर ।”
चौधरीले आफू दमको पूरानो रोगी भएको बताएकी छिन् ।
पछिल्लो समय सांसद चौधरी मात्र होइन आम मानिसहरु पनि अस्पताल जान डर मानिरहेको देखिन्छ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा दैनिक वृद्धि हुन थालेपछि आम मानिसहरुमा डर पैदा हुनु स्वभाविक पनि हो ।
१८ वर्ष कमलरी बसेकी शान्ताले सांसद भएपछि औपचारिक अध्ययन शुरु गरेकी थिइन् । शान्ताको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक चर्चित छ ।
दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ३९ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्। शान्ताले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी हुन्।उनले २०७६ सालको एसएलसी परीक्षा बी ग्रेडमा उत्तिर्ण गरेकी थिइन् ।