काठमाडौँ । कोरोना भाइरस महामारीका बहानामा विभिन्न संचारमाध्यमबाट पीडित पत्रकारहरुले रिले अनसन सुरु गरेको आज तीन दिन भएको छ । कोभिड–१९ को बहानामा जबरजस्ती निष्काशन गरिएका पत्रकार र कर्मचारीलाई निःशर्त तत्काल पुनर्बहाली, सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता तत्काल भुुक्तानी गर्नुपर्ने, जबरजस्ती राजिनामा दिन बाध्य पार्ने, बदनियतपूर्ण गरिएका सरुवा खारेज, बेतलबी विदा खारेज गर्नुपर्नेलगायतका कामहरु पत्रकार तथा कर्मचारीले अगाडि सारेका छन् ।
संचार गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाईमा जारी अनसनमा विभिन्न व्यक्ति, संघ संगठनहरुले ऐक्यवद्धता जाहेर गरेर मागहरु पूरा गर्न दवाव दिँदै आएपनि आजसम्म सम्बन्धीत पक्षले बेवास्ता गरेको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अनसनप्रति एक्येवद्धता जाहेर गर्न आउने भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य जन्मदेव जैसीका अनुसार शनिबार बिहान ११ बजे एक्येवद्धताको लागि डा. भट्टराई अनसनस्थल नयाँ वानेश्वर पुग्ने भएका छन् ।
‘वर्षौंदेखि अरुका अन्यायका विरुद्ध हामीले समाचार लेख्यौं, त्यही विषयलाई व्यापार बनाएर मिडिया मालिकहरुले कमाए’, उनले भने, ‘अहिले ऐन अनुसार सुविधा माग्दा कामबाटै निकाल्ने, अनेक हतकण्डा मच्चाउने काम किन भइरहेछ। के यी कर्पोरेट मिडियाहरु राज्य भन्दा पनि ठूला हुन् र?’
‘हामीलाई अनावश्यक सरुवा गर्ने, तलब रोक्ने तथा स्पस्टिकरण सोधेर तनाव दिने काम भइरहेको छ। पारिश्रमिक पाएपछि कुन पत्रकारले काम गर्दैन र?’ उनले भने, ‘तर, हटाउने मनसायले अनेक हत्कण्डा मच्चाउने काम मिडिया हाउसहरुबाट भइरहेको छ। त्यसको मतियार स्वयम् सम्पादकहरु नै भइरहेका छन्।’