जबजब मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्छ, अनि सुरु हुन्छ कसको पद धरापमा? को–को मन्त्री फेरिदैंछन्? को–को भित्रिदैछन्? यी हुन सम्भावित दावेदार! विभिन्न सञ्चार माध्यमका समाचार शीर्षक बन्छन्। चर्चा र बहस हुन्छ। राजनीतिक वृत्त नै तात्छ। दावेदारहरु पनि शीर्ष नेताका ढोका चहार्न थाल्छन्। गुटका नेतालाई हारगुहार माग्छन्। गुटउपगुटका कोठे बैठक हुन्छन्। हटाउने र थप्ने नाम छान्न सकस पर्छ।
तर यी चर्चामा खानेपानी मन्त्री विना मगरको नाम प्रायः गुमनाम हुन्छ। ‘डेन्जर जोन’मा पनि उनको नाम आउदैन। सत्तारुढ नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मगरलाई मन्त्री पद जोगाउन कसैको ढोका चहार्न पर्दैन। त्यसपछि मानिसहरु प्रश्न गर्न थाल्छन्, ‘उनको बहिर्गमन आवश्यक छैन? उनी फेरिन पर्दैन? उनले कुन चाहि चमत्कारिक काम गरिन्?’ यस्ता प्रश्नलाई अस्वभावित रुपमा पनि लिन सकिदैन।
यो पटक फेरि मन्त्रिपरिषद पुनर्गठनको चर्चा जारी छ। पूरै फेर्ने कि रिक्तमा मात्रै नियुक्त गर्ने? कसलाई हटाउने वा कसलाई ल्याउने? विना मगरको नाम कुनै सूचीमा देखिदैन। भागवण्डा नमिलेकै कारण पुनर्गठनमा ढिलाइ भइरहेको स्पष्ट छ। अध्यक्ष दाहाल अधिकांश मन्त्री फेरेर नयाँलाई अवसर दिनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली रिक्त मन्त्रालयमा मात्रै नियुक्त गर्ने मनसायमा। विवादको अर्को चूरो हो अध्यक्ष दाहालले पूर्वएमाले समूहले अहिले लिएका केही मन्त्रालय पूर्वमाओवादी समूहलाई दिनुपर्ने विषय। दाहाललले यो कुरा ओलीलाई सुनाएपछि पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोत बताउँछ।
यो बीचमा ओली दाहालबीच विभिन्न चरणमा छलफल समेत भइरहेका छन्। कसलाई हटाउने वा कसलाई ल्याउने भन्ने विषयमा पनि उनीहरुले छलफल गरेको स्रोत बताउँछ। सहमति जुट्न नसकेको भए पनि विभिन्न व्यक्तिका विषयमा भने छलफल भएको छ। ओली दाहालका आ–आफ्नै सूची छन्। रुचाएका व्यक्ति छन्। कसलाई ल्याउने र हटाउने भन्नेमा पनि दुबै नेता आफू स्पष्ट छन्। तर साझा सहमति भने हुन सकेको छैन।
बालुवाटार निकट स्रोतका विभिन्न चरणका छलफलमा हटाउनेमा नआएको नाम हो विना मगर। स्रोतकाअनुसार खानेपानी मन्त्री विना मगरलाई हटाउन नहुनेमा अध्यक्ष दाहाल छन्। काठमाडौंमा मेलम्ची खानेपानी नल्याउँदासम्म विनाले खानेपानी मन्त्रालय नछाड्ने मनसाय बनाएकी छन्। ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको मेलम्ची आफ्नै पालामा ल्याउन सकिने देखेकी छन्। यसले राजनीतिक रुपमा पनि दुरगामी महत्व राख्नेमा दुईमत छैन। सो कुरा दाहालले पनि राम्ररी बुझेका छन्। यही कारण विनालाई खानेपानी मन्त्रालयमै निरन्तरता दिनुपर्ने पक्षमा दाहाल छन्। ढिलै भए पनि आफ्नै पालामा मेलम्ची काठमाडौं ल्याउन सकिए विनाका लागि ठूलो राजनीतिक उपलब्धी हुनेछ।
यसअघि पनि मन्त्रिपरिषद पुनर्गठन भएको थियो। धेरै जना फेरिए। धेरै नयाँ अनुहार आए। तर खानेपानी मन्त्री मगरलाई भने निरन्तरता दिइएको थियो। जुन निर्णयको पछि व्यापक आलोचना समेत भयो। राम्रो काम गरेको भनिएका श्रम मन्त्री गोकर्ण विष्टलाई समेत हटाउँदा मन्त्री मगरको पद जोगिएको थियो।
त्यतिबेला प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर देखिएको भन्दै मन्त्री हटाएका थिए । तर, हट्ने सूचीमा सामाजिक सुरक्षा कोष सुरु गर्ने गोकर्ण विष्ट समेत परे । विष्ट पर्दा खानेपानी मन्त्री विना मगर किन परिनन्? मेलम्ची खानेपानी आयोजनामा इटालियन कम्पनी सिएमसीलाई भगाउने र आयोजना लम्बाउन लागि परेको आरोप मगर माथि थियो। विष्ट आयोग्य हुँदा मगर कसरी योग्य भन्दै धेरैले प्रश्न समेत गरे। अलोचना गरे।
यो सबै उनी प्रचण्डको बुहारी भएकै कारण सम्भव भएको धेरैले आरोप लगाउने गरेका छन्। यसमा आंशिक सत्यता पक्कै छ। उनको राजनीतिक संघर्ष र योगदानका विषयमा प्रष्ट हुनुपर्छ। नेपाली राजनीतिमा उनले छोटो समयमा लामो संघर्ष गरेकी छन्। सोही कुरा विनाले पनि पटक पटक बताउँदै आएकी छन्।
तर उनको संघर्ष र योगदानकै कारण यही उमेरमा मन्त्री बन्न सक्थिन् वा अझैं केही समय कुर्नु पर्थ्यो? यो सोचनीय विषय हुनसक्छ। उनी प्रचण्ड परिवारमा नभएको भए के हुन्थ्यो? के यही रुपमा देख्न पाइन्थ्यो ? प्रश्न जायज छ। प्रचण्ड परिवारमा जोडिएके कै कारण उनले छिटै लाभको पद लिइन् वा प्रचण्ड परिवारको सदस्य भएकै कारण विगतमा गोकर्ण विष्टजस्ता मन्त्री हट्दा समेत उनी पदमा टिकी रहिन्। अहिले पनि उनी हट्ने सम्भावना न्यून छ।