यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।
आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको लामो समयसम्म सम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था थियो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताएका छन् । उनले भने– ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’
छपाइ ढिलो हुँदा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या छ । तर, लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।
गत वर्ष इटालीबाट विभागले मास प्रिन्टर पनि किनेर ल्याएको थियो । सबैजसो प्रदेशमा कोरोनाको महामारीका कारणा सवारी लाइसेन्सको परीक्षा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ ।
यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो ।
हमालका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ ।
लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चालकहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाँ लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् ।