संघीयताको खास अभ्यास भइरहेको प्रदेश २ मा सरकार परिवर्तको खेल सुरु भएको छ । केन्द्र सरकारसँग निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएको उक्त प्रदेशमा सरकार परिवर्तनको अन्तिम खेल सुरु भएको हो । सात वटा प्रदेशमध्ये एक मात्रै गैर कम्युष्टिको सरकार रहेको प्रदेश २ मा जनता समाजवादीको एक सरकार छ । तत्कालिन फोरम र राजपा मिलेर सरकार बनाएको भए पछि हाल दुई दल एक भइसकेका छन् ।
अपेक्षाकृत काम गर्न नसकेको भन्दै राउतको विकल्प खोज्न थालिएको हो । सरकार फेरिन सक्ने अर्को कारण हो एकीकरणपछि फेर्नुपर्ने संसदीय दलको नेता । तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका राउत अहिले मुख्यमन्त्री छन् । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छन् । उनी पनि मन्त्री हुन् । अब दुबै दल एक भएकोले एक जना मात्रै संसदीय दलको नेता छान्ने तयारी पार्टीले गरेको छ । संसदीय दलको नेता फेरिसँगै मुख्यमन्त्री पनि फेरिने छ । संविधान अनुसार दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेको छ ।
संसदीय दलको नेता चयन गर्नुपर्ने बाध्यताका कारण हालका मुख्यमन्त्रीदेखि मन्त्री र कतिपय नेताहरुले लविङ शुरु गरेका छन् । पार्टीभित्र तीन वटा विकल्पमा छलफल भइरहेको छ । पहिलो मुख्यमन्त्रीलाई यथावत राखेर सबै फेर्ने । दोस्रो मुख्यमन्त्री राउतसहित केही मन्त्री यथावत राखेर केही मन्त्री फेर्ने र तेस्रोमा मुख्यमन्त्रीसहित पुरै सरकार परिवर्तन गर्ने । तीन वटै पक्षमा नेताहरुले लबिङ गरिरहेका छन् । अहिले सरकारमा रहेका नेताहरु पहिला वा दोस्रो विकल्पका बारेमा लबिङ गरिरहेका छन् भने सरकार बाहिर रहेकाहरु तेस्रो विकल्पमा जानुपर्ने धारणा राख्छन् ।
फोरम र राजपा एकीकृत भएपछि संसदीय दलको नेता चयन गर्नुपर्ने भएकोले सरकार परिवर्तनको बहस सुरु भएको हो। मुख्यमन्त्री राउत हालकै सरकारलाई निरन्तरता दिन लबिङ गरिरहेका छन् भने उनीइतरहरु विकल्प खोजीरहेका छन्।
केन्द्रमा छलफल
प्रदेश सरकार परिवर्तनका लागि पार्टीको केन्द्रीय स्तरमा समेत चर्चा सुरु भएको छ। केन्द्रीय नेताहरुले समेत यस विषयमा आन्तरिक छलफल सुरु गरेको जसपाका नेताहरु बताउँछन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोले आन्तरिक तयारी थालेका छन्।
उनीहरुले पनि विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । संसदीय दलको नेता चयन गर्नुपर्ने भएकोले पुरानैलाई निरन्तरता दिने कि नयाँ फर्ने भन्नेमा शीर्ष नेताहरुबीच पनि छलफल भइरहेको हो । हालकै मुख्यमन्त्रीलाई यथावत राख्न पनि संसदीय दलमा पुनः उनलाई नै ल्याउनु पर्ने हुन्छ । दल एकीकरणका लागि प्रदेशसभाको बैठक बोलाउनुपर्छ । तर, कोरोना महामारीका कारण प्रदेशसभा बैठक कहिले बस्ने भन्नेमा आन्यौल रहेको छ ।
प्रदेश–२ सरकारको अवधि लगभग दुई वर्षमात्र बाँकी छ । यसैलाई निरन्तरता दिनका लागि मुख्यमन्त्री राउतले पनि केन्द्रमा लबिङ गरेका छन् ।
यद्यपि यो बहस भने नयाँ होइन । सरकार गठन भएको केही महिना पश्चात नै यस्ता बहसको थालनी भएको थियो । यहाँसम्म कि प्रदेश सरकार र संघीय सरकारबीच धेरै कुरामा विवाद पर्न थालेपछि प्रधानमन्त्री ओलीले पनि सरकार फेर्ने धेरै कसरत गरे । तर सफल भने हुन सकेनन् । प्रदेश २ मा जसपासँग सरकार गठन गर्ने बहुमत छ । प्रदेशसभामा एकजना स्वतन्त्र सांसद गरेर जसपासँग अहिले ५५ जना सांसद छन् ।
लबिङमा दावेदार, प्रदेशदेखि केन्द्रसम्म दौडधुप
सरकार परिवर्तनको खेल सुरु भएसँगै दावेदारहरु पनि लबिङमा लागेका छन् । बहालवाला मुख्यमन्त्री राउत आफ्नो पद जोगाउन तल्लीन छन् । उनी फेरि संसदीय दलको नेता भएर मुख्यमन्त्रीमा रहिरहन चाहन्छन् । त्यसका लागि उनले प्रदेशदेखि केन्द्रीय नेताहरुसँग लबिङ गर्न थालेको उनीनिकट एक नेताले बताए ।
त्यसपछि संसदीय दलका आकांक्षी सोनल, मनिष सुमन, योगेन्द्र राय यादव, विजय यादवलगायतहरु पनि छन् । हाल मुख्यमन्त्रीका दावेदार समेत रहेका उनीहरु सरकार परिवर्तन गर्नुपर्ने मनसायमा देखिन्छन् ।
उनीहरुले आ आफ्नो तर्फबाट लबिङ गरिरहेका छन् । उनीहरु जसरी पनि सरकार परिवर्तन गर्नुपर्ने लबिङमा छन् ।