फिल्म अभिनेता आमिर खान एकपटक पुनः विवादमा छन् । यो विवादको कारण उनको कुनै भनाई भन्दा पनि एक भेटघाट हो । टर्कीकी प्रथम महिला एमिने एर्दोगनसँगको भेटले उनी विवादमा तानिएका हुन् । पछिल्लो केही समययता भारत र टर्कीबीच मतभेद भइरहेको छ । यस्तो अवस्थामा आमिरको यो भेटलाई धेरैले रुचाएका छैनन् । आमिर टर्की नयाँ फिल्म ‘लाल सिंह चड्डा’को बाँकी दृश्य छायांकनका लागि लोकेसन हेर्न पुगेका हुन् । आमिरको लागि यो विवाद नयाँ होइन, यसअघि पनि उनीबारे केही विवाद चर्चाको विषय बनेको थियो ।
सन् २००३ मा आमिर आफ्नो ब्लगमा लेखेको एक वाक्यले विवादमा तानिए । उनले ‘शाहरुखले मेरो खुट्टा चाटिरहेको छ र म उसलाई बिस्कुट खुवाउँदैछु’ भन्ने लेखेका थिए । उनले लेखेको नाम ‘शाहरुख’ अभिनेता शाहरुखको नभई उनको कुकुरको थियो । तर यो विवाद यति चुलियो कि उनले सामाजिक सन्जालमा सफाई नै दिनुपर्यो । यो घटनापछि शाहरुख र आमिरको शितयुद्ध चलेको थियो ।
करिब पाँच वर्ष अघि आमिर असहिष्णुताको बारेमा बोलेर विवादमा आएका थिए । उनले पत्नी किरणलाई भारतमा बस्न डर लाग्ने गरेको बताएका थिए । यो भनाई पछि आमिरले विरोधको सामना गर्नुपर्यो । अनुपम खेर र परेश रावलजस्ता अभिनेताहरुले आमिरको भनाईको आलोचना गरेका थिए ।
सन् २००५ मा रिलिज भएको अमिताभ बच्चन र रानी मुखर्जी स्टारर फिल्म ‘ब्ल्याक’लाई लिएर आमिरले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफू फिल्म हेरेर निस्कँदा अमिताभको भूमिका शिरबाट बाहिर आएको बताएका थिए । यो भनाइपछि अमिताभ र आमिरको सम्बन्ध चिसिएको थियो । तर विस्तारै यो विवाद सेलाउदै गयो र आमिरले अमिताभसँग फिल्ममा अभिनय गर्न थाले ।
आमिरको सबैभन्दा विवादित फिल्म ‘पीके’ सन् २०१४ मा रिलिज भयो । यो फिल्ममा पहिला आमिरको न्यूड पोस्टरले विवाद ल्याएकै थियो, त्यसपछि उनलाई हिन्दु धर्मको अवहेलनाको आरोप लाग्यो । कैयौं स्थानमा फिल्ममाथि प्रतिबन्ध लाग्यो । आमिरको पोस्टर जलाइयो ।
सन् २००९ को सुपरहिट फिल्म ‘थ्री इडियट्स’ले निकै लोकप्रियता कमाएको थियो । फिल्म दर्शकले त मनपराए, तर आमिर यो फिल्ममा पनि विवादमा घेरिए । लेखक चेतन भगतले यो फिल्म उनको उपन्यास ‘फाइभ पोइन्ट समवान’बा लिइएको भनी बोलेका थिए । तर उनले आफूलाई फिल्ममा कुनै क्रेडिट नदिइएको भन्दै आपत्ति जनाएका थिए ।