
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा उनले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर समाधान गर्नुपर्ने बताए ।
“कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारको प्रयासले मात्र सम्भव छैन । जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ”, प्रधानमन्त्री ओलीले भने । उनले यस्ता राष्ट्रिय सङ्कट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति बढेकाले यस्तो प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेका अवस्थामा पनि सबै प्रबन्ध गरेर कोभिड–१९ नियन्त्रण र रोकथाम लागि प्रभावकारी कदम चालिएको जानकारी दिए । “हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेको होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौँ”, “हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशको तुलनामा सफलता हासिल गरेका छौँ ।”
उनले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविकरुपमा लिने जनाउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनुपर्ने समेत बताए । “जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्न सकिन्छ, तर जे गर्यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन”।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पिसिआर परीक्षण गर्न सक्ने गरी ल्याब स्थापना गरिएको र हालसम्म चार लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता थियो ।