
विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगर-५ का निवासी ७७ वर्षीय ती पुरुषको कोसी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहानमात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा तीन बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।
‘उनलाई आज बिहान साढे नौ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो’, डा. दासले भने।
मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
त्यसपछि कोरोना परीक्षणको लागि उनको स्वाब झिकियो। तर तीन बजे नै वृद्धको मृत्यु भयो। पछि सवा चार बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको डा. दासले जनाए।
मृतकको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको छैन।
साउन १४ गते मोरङको सुनवर्षी नगरपालिका ४५ वर्षीय पुरुषको धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
आज ज्यान गुमाएका पुरुषसँगै प्रदेश नम्बर १ मा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
यसअघि विपीमा ज्यान गुमाएका २ जना प्रदेश नम्बर २ का थिए ।