
धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
निधन भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिका ४५ वर्षीय पुरुषको हुन् ।
ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४:४५ मा मृत्यु भएको बताइएको छ । उनी १० दिनअघि भारतबाट आएका थिए ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ भने प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमितको ज्यान गएको छ । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का हुन् ।
आज वीगरञ्जमा पनि २ जनाको कोरोनाको कारण निधन भएको छ । योसँगै बुधबार कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।