
झापाको बाह्रदशी गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका स्थानीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये एकजना नेकपाका स्थानीय नेता र अर्का एक जना औषधि व्यवसायी रहेका छन् ।
बाह्रदशीमा पहिलो पटक स्थानीयमा संक्रमण देखिएको हो । यस अघि देखिएका १२ जना भारत लगायतका अन्य देशबाट नेपाल आएका थिए ।
संक्रमित दुबै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बाह्रदशी गाउँपालिकामा समुदायमा संक्रमण भएको आशंङ्कामा मंगलवारबाट मास टेस्टिङ गरिने उनले जानकारी दिए ।
गत बैशाख १४ गते भारतको दिल्लीमा भएको जमाती सभामा सहभागी भएर फर्केका बाह्रदशी गाउँपालिकाका एक व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । उनी झापामा कोरोना संक्रमित हुने दोस्रो व्यक्ति थिए ।
विराटनगरको कोरोना अस्पतालमा उपचार पछि बैशाख २८ ती व्यक्ति निको भएर घर फर्किसकेका छन् ।
गत शुक्रवार सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि हिजोमात्रै झापाको मेचीनगरमा १ सय १७ जनाको पीसीआर नमूना संकलन गरिएको छ । त्यस्को नतीजा आउन बाँकी छ भने साउन ७ र ८ गते भन्सार कर्मचारी, क्वारेन्टाइन, होल्डिङ क्षेत्र आसपासबाट संकलित ८२ वटा पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
आज भेटिएका २ संक्रमितसहित झापामा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ भने निको भएर फर्किनेको संख्या ३ सय ४ रहेको छ ।