नेकपाको सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।
बालुवाटार स्रोतका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठकमा भएको छलफल लगत्तै अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
राष्ट्रपतिसँग भेट्नुको कारण भने खुलाइएको छैन । सत्तारुढ पार्टीको विवादलाई राष्ट्रपति भण्डारीले नजिकबाट नियालिरहेकी छन् ।
बालुवाटारमा चार घण्टासम्म चलेको सचिवालय बैठकले ठोस निर्णय नगरे पनि सहमतिबाटै पार्टी भित्रको संकट समाधान गर्ने विषयमा व्यापक छलफल भएको छ ।
विवादित विषयको टुंगो स्थायी कमिटीबाट लगाउने गरी शनिबारको सचिवालय बैठक टुंगिएको छ ।
केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुइ पदमध्ये एक पदमात्र लिनको लागि पार्टीभित्रै चर्को रुपमा कुरा उठिरहेको छ । जसले गर्दा नेकपामा विभिन्न गुट उपगुटहरु बनेका छन् । कोरोनाले देश आक्रन्त भएको समयमा नेताहरु कुर्सीकै लागि दौडिरहँदा आम जनमानसमा राम्रो सन्देश भने गएको देखिदैन ।
५ वर्ष ढुक्कले सरकार चलाउ भनेर भोट दिएर पठाएका जनताहरु पार्टी फुटेर फेरी शक्ति र कुर्सीको दौडधुपमै बित्नेहो कि भन्ने चिन्तामा रहेका छन् ।
प्रचण्ड र माधव नेपाल गुटले राष्ट्रपतिमाथि महाभियोग लगाउने सम्मका समाचारहरुले केही समयअगाडी सञ्चारमाध्यममा प्रमुख स्थान समेत पाएका थिए । नेकपामा केपी ओली समूह अल्पमतमा परेको समेत बताइएको थियो ।
एकथरी राजनीतिज्ञहरुको बुझाइ भने चुनाव जितेर अध्यक्ष भएका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले त्यतिकै पद छाड्नुहुँदैन । टीका लगाएर अध्यक्ष पद पाएका भनिएका प्रचण्डले ओलीलाई गिराउन सक्दैनन् । अर्कोथरीले दुई पद नै ओगटेर बस्नु हुँदैन भन्ने छ ।
जसले जे भनेतापनि पछिल्लो समय नेपालको माइक्रो म्यानेजमेन्ट गर्ने भारतको खुलेर विरोध गर्ने सामर्थ्य नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकले गर्न सकेका थिएनन् तर भारतको विरोध गर्दैमा मात्र राष्ट्रवादी भइदैन भन्ने कुरा केपी शर्मा ओलीले पनि बुझ्नुपर्छ ।
सँधै राजनीतिको केन्द्रविन्दुमा बस्ने र कहिल्यै चुनाव नगर्ने तर आफूले अध्यक्ष पद ओगटेर बस्ने गरेको ट्याग पनि प्रचण्डमाथि लाग्ने गरेको छ । महाधिवेशन नभएर प्रचण्डले अध्यक्ष पद नछाडेपछी माओवादी टुक्रा टुक्रा भएको इतिहास नेपाली राजनीतीमा ताजै छ ।