नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् ।
जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।
कार्यकर्तालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।
पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै प्रचण्डले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको समेत बताए । पछिल्लो समय चिनिया दुतावासले नेकपाका नेताहरु भेट्ने क्रम बाक्लिँदै गएको छ ।