पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज ९६ औं जन्मजयन्ती मनाईंदैछ ।
कोरोना महामारीको यो अवस्थामा कोइरालाको जन्मजयन्तीको अवसरमा अनलाइन माध्यमबाट काँग्रेस निकट संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो ।
जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन भएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजा प्रसादको जन्म भएको थियो ।
कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो । गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष भए । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जे ल परे ।
२१ दिन भोक–हडताल गरे र छुटेर उनी २०२१ मा भारत प्रवासमा गए । २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत भए । उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि भए ।
२०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री भए । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ ।
कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो । उनकी छोरी सुजाता कोइराला हुन् ।