
तत्कालीन समाजवादी पार्टीकी सांसद सरीता गिरीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकविरुद्ध हालेको संशोधन फिर्ता नलिने अडान राखेकी छिन्।
गत बुधवार सरकारी विद्येयकविरुद्ध संशोधन दर्ता गराएपछि उनलाई पार्टीले फिर्ता लिन निर्देशन दिएको छ। यसका लागि समाजवादी आबद्ध नवगठित जनता समाजवादी पार्टीको जारी संसदीय दलको बैठकमा उनलाई बोलाएर संशोधन फिर्ता लिन दबाब दिइएपनि उनले फिर्ता लिन नमानेको एक नेताले बताएका छन्।
‘उहाँले त आफ्नो गल्ती सच्याउन चाहनुभएन, अब पार्टी कारवाहीमा अगाडी बढ्छ’, ती नेताले भने, ‘अब उहाँको संशोधन अगाडी बढाउने या खारेज गर्ने सभामुखको हातमा छ।’ यसैबीच सांसद गिरीले राखेको संशोधन प्रस्तावलाई अनुपयुक्त ठहर गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन्।
योसँगै आजैको बैठकमा नयाँ नक्सासम्बन्धी संशोधन विधेयक पारित हुनेछ। बैठकमा संशोधन फिर्ता लिन भनिएपछि सांसद गिरीले ‘अहिले फिर्ता लिन्नँ, संसदमा गएर आफैँ बोल्छु, जे गर्नुपर्छ गर्छु’ भनेर जवाफ दिएको ती नेताको भनाई छ । .
संशोधन फिर्ता नलिए उनलाई सांसद पदबाट समेत निष्कासन गरी कारवाही गर्ने पार्टीले जनाएको छ।
सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनूसूचीमा राख्नका लागि पेश गरेको संशोधन विधेयक प्रतिनीधिसभाबाट आज पारित गर्ने तयारी छ।
सरकारको उक्त विधेयकविरुद्ध समाजवादीकी सांसद गिरीले गत बुधबारसंसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन्।