
समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूल ढोकामा ढुङ्गामुढा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा छन् ।
मंगलबार काठमाडौंको विशालनगर स्थित गिरीको घरको मूलढोकामा ढुंङ्गा मुढा गरी क्षति पुर्याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको छ । उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालको हस्ताक्षमा आएको विज्ञप्तीमा थापालाई विनासर्त रिहाइको माग गर्दै अन्यथा कडा आन्दोलन गरिने र त्यस बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिुन पर्ने उल्लेख छ ।
विज्ञप्तीमा लेखिएको छ:
आदरणीय पत्रकार मित्रहरु,
स्वतन्त्र रुपमा सबै नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै गठन भएर आन्दोलनरत भ्रष्टाचार र एमसिसि विरुद्ध संयुक्त आन्दोलन संयोजन समितिका एक सदस्य विद्यार्थी अभियन्ता हेमराज थापालाई आज विहान वसन्तपुरमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएको अवस्थाबाट प्रहरीले बिना कारण पक्राउ गरेकोमा यस संयुक्त आन्दोलन समिति घोर भत्र्सना र आपत्ति प्रकट गर्दछ ।
थापालाई पक्राउ गर्दैमा भ्रष्टाचार र देशघाती एमसिसि विरुद्धको आन्दोलनमा कत्ति पनि ब्रेक नलाग्ने जनाउ दिँदै थापालाई बिना शर्त रिहा गर्न अनुरोध गर्दछौँ ।
जनताको तर्फबाट लामो समयदेखि जारी एमसिसि र भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण आन्दोलनको आवाज नसुन्ने तर निर्ममतापूर्वक दमनमा उत्रने क्रमलाई तत्काल रोकेर शान्तिपूर्ण अवस्था कायम राखी एमसिसि प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकोमा तत्काल फिर्ता लिन समेत माग गर्दछौँ
अन्यथा अझ सशक्त आन्दोलनका कारण हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनु पर्ने समेत चेतावनी दिन चाहन्छौँ ।