
काठमाडौं- लकडाउनका कारण गत वर्ष रोकिएको कक्षा १० को अन्तमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय सरकारले गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको एसइई परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको र शैक्षिक वर्ष क्षति हुन नदिनका लागि सम्बन्धित विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने गरी निर्णय गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
गत चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा ५ गते मात्र सरकारले स्थगित गर्ने घोषणा गरेको थियो।
लकडाउन खुल्ला भएपछि जेठको अन्तिम साता परीक्षा संचालन गर्ने तयारी गरेपनि तत्काल गर्न नसकिने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो।
सरकारको पछिल्लो निर्णयसँगै करिब ४ लाख परीक्षार्थीको मूल्यांकन विद्यालयले नै गर्ने भएको छ। विद्यालयले पठाएको विवरणका आधारमा नै राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले परीक्षाफल प्रकाशन गर्नेछ।
विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन्
त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।
कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिनेछ ।