
आज (आइतबार ) नेपालगन्जमा संक्रमित पुष्टि भएका ९ जनामध्ये १ जना ७ वर्ष उमेरका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।
नेपालमा यति सानो उमेरमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।
आज नेपालगन्जमा भेटिएका ९ जना मध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।
त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।