आन्तरिक विवादमा नराम्रोसँग फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु आज पनि विहानैदेखि छलफलमा सक्रिय भएका छन् ।
पार्टी सचिवालयको बैठक भोली बस्ने तय भएकाले नेताहरु आज विहानैदेखि सक्रिय भएका हुन् ।
पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र तेस्रो अध्यक्षका लागि प्रस्तावित माधवकुमार नेपालका बीचमा आज विहान छलफल भएको हो ।
ललितपुरका सांसद कृष्णलाल महर्जनको निवास बालकुमारीमा उहाँहरुका बीचमा विहान ७.३५ देखि ८.२० सम्म छलफल भएको श्रोतले जनाएको छ ।
आफ्नै निवासमा छलफ हुदाँ बढी चासो र चर्चा हुने भएकाले बैठकलाई गोप्य राख्न उहाँहरु सांसद महर्जनको निवासमा पुग्नु भएको बताइएको छ ।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्ड र नेता नेपालका बीचमा भोलीको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि बसेको बैठकमा नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो ।
ओलीको प्रस्तावलाई कसरी लिने भन्ने बारेमा नै उहाँहरुको छलफल केन्द्रीत रहेको बताइएको छ ।
उहाँहरुले आजै पार्टीका अन्य शिर्ष नेताहरुसँग पनि छलफल गरेर प्रस्तावलाई ग्रहण गर्ने की नगर्ने भन्ने बारेमा निर्णय लिने र आफुहरुको तर्फबाट राख्ने प्रस्तावको तयारी पनि गर्नुहुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको प्रस्तावका बारेमा प्रचण्ड, नेपाल, गौतम लगायतका नेताहरुले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिनु भएको छैन भने गौतमले सकारात्मक रुपमा लिएको समाचार आएको छ ।
आम नागरिक र पार्टीकै अधिकांश नेता कार्यकर्ताहरुले भने ओलीको प्रस्ताव गलत भएको भन्दै आलोचना गरेका छन् ।