
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
जाजरकोटका नवराज विकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको ह त्या गरियो । ढुंगाले हिर्काएरै उनको ह त्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ ।
गायक प्रकाश सपुतले पनि उनको मृत्युको विषयलाई लिएर सरकारसँग प्रश्न गरेका छन् । सपुत लेख्छन्–‘सरकार, खुकुरी उदाएर निस्किकै हो । जान्छु देशको सिमानामा र थापिन्छु । कि काट्छु कि काटिन्छु भनेर । तर, रुकुम पुगेर रोकिएँ । सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी । जातिय विभेदको, वर्गिय विभेदको ।’
सपुतले यी पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न भन्दै प्रश्न पनि गरेका छन् । सपुत लेख्छन्–‘म एक स्वाभिमानी नेपाली, यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ।’
उनले, नवराजको मृत्युसँगै सबैको आत्मसम्मानको पनि मृत्यु भएको उल्लेख गरेका छन् । उनले दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियती देशकै लागि लज्जाको बिषय भएको पनि उल्लेख गरेका छन् ।