
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रुकुम पश्चिम घटनामा प्रश्न नउठ्ने गरी अनुसन्धान हुने बताएका छन् ।
उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन समेत आग्रह गरेका छन् ।
आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समिति समेत घटनास्थलमा पुगेर छानविन शुरु गरिसकेको उनको जानकारी दिए ।
उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराइएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजी कार्य जारी रहेको बताएका छन् ।
घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टोली छानबिनका लागि पठाउने कि भन्नेबारे छलफल भइरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए ।
घटनाका सम्बन्धमा शनिबार बसेको मन्त्रिपरिषद बैठकमा समेत छलफल भइसकेको बताएँदै उनले जातीय उत्पीडन अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले जातीय उत्पीडनको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न समेत प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।