
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा जनकपुरधामका १४ वर्षीय किशोरमा कोरोना भाइरस पोजेटिभ देखिएको भनेपछि केही समयका लागि जनकपुरधामबासी आतंकित भए । लकडाउन लागू गराउने विषयमा धेरै पछाडि रहेका जनकपुरधामको सडक केही समय सुनसान बने ।
सबै यही पत्ता लगाउनमा व्यस्त थिए कुन टोलको व्यक्ति संक्रमित भएका छन् । बाहिरबाट पनि निकै संख्यामा विभिन्न व्यक्तिको घरमा फोन आएको थियो । प्रादेसिक अस्पताल जनकपुरधामका १ स्वास्थ्यकर्मीका अनुसार पत्रकारबाहेक दर्जनो शुभचिन्तकले टेलिफोन गरी को संक्रमित परे जानकारी लिए । ५ दिनअघि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर टेस्टमा निगेटिभ देखिएको १४ वर्षीय १ युवामा आज टेकुको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
आरडीटी टेष्ट निगेटिभ आएका किशोरको पीसीआर पोजेटिभ आएको छ । सर्लाही धनकौल गाँउपालिकाका १४ वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएको छ । ती बालक भारतको दिल्लीबाट केही दिनअघि आएका थिए । जनकपुरधाम प्रादेशिक अस्पतालमा आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि घर फर्काइएको थियो ।
घरमा रहेका ती बालकलाई उपचारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । जनकपुरधाममै त्यसको उपचार गरिने छ । घरमा अन्य व्यक्तिमा पनि संक्रमण फैलिएको हुनसक्ने खतरा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । घरकै सबैलाई आइसोलेसनमा राखी कोरोना टेष्ट गर्न मांग ती स्वास्थ्यकर्मीले गरेका छन् ।
प्रदेश २ मा अहिलेसम्म ६ सय ९ जना कोरोना भाइरसका शंकास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गरिएको छ । जसमध्ये ४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ देखाइसकिएको छ भने ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।