
काठमाडौं । काठमाडौं, ८ वैशाख । नेपाली राजनीतिमा कालो बादल मडारिएको छ । देश कोरोना भाइरससँग जुधिरहँदा सत्तारुढ दलभित्र नयाँ राजनीतिक चलखेल भएको छ ।
यही मडारिएको कालो बादललाई हटाउने उद्देश्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।
पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाका पूर्व माओवादी खेमाका मन्त्रीहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका थि । त्यहाँ उनीहरुको छुट्टै बैठक बसेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच दुरी बढेको देखिएको थियो । प्रचण्डले सर्वदलीय राजनीतिक संयन्त्र बनाएर कोरोनाविरुद्ध लड्ने प्रस्ताव गर्दा आलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
नेकपाभित्र विवाद चुलिइरहँदा प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि र संसदीय दलमा ४० प्रतिशत सदस्य पुगेमा पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने सरकारले निर्णय गरेपछि नयाँ विवाद सृजना भएको छ । यसले नेकपाभित्रको विवाद निकै चुलिएको खुलेको छ ।
नेकपाभित्र प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल एकातर्फ छन् भने अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ अर्कातर्फ छन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि ओलीको विपक्षमा उभिएका छन् ।
सरकारमा पूर्वमाओवादिको तर्फमबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, खाने पामानी मन्त्री विना मगर, शिक्षामन्त्री गरिराजमणि पोखरेल, खलकुद मन्त्री जगत विश्वकर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन मन्त्री शक्ति बस्नेत रहेका छन् ।