
६ वैशाख, काठमाडौं । २७ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगको आइसोलेसन कक्षमा बसेकी नेपालकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) पूर्णरुपमा निको भएर घर फर्केकी छिन् ।
अध्ययनको शिलशिलामा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी मैतिदेवीकी १९ वर्षिया किशोरीमा चैत १० गते कोरोना देखिएको थियो । पहिलो कोरोना देखिएको ६० दिन अर्थात २ महिनापछि नेपालमा दोस्रो कोरोना संक्रमित भएकी थिइन् काठमाडौं मैतिदेवी स्थायी घर भएकी १९ वर्षिया प्रसिद्धी श्रेष्ठ ।

आज टेकुमा एक पत्रकार सम्मेलनको मार्फत ती युवतीको तस्विर र नाम सार्वजनिक गरिएको हो । यसगाडी यी युवतीको नाम र तस्विर सार्वजनिक गरिएको थिएन । स्वास्थ्य मन्त्रि भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव प्रसाद तिवारी भन्छन् “टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला र संक्रमित भएर निको भएकी युवतीको अनुमतिमा यो तस्विर सार्वजनिक गरिएको हो ।”
तस्विर सार्वजनिक गरेपछी स्वास्थ्य मन्त्रालय भन्छ : “प्रसिद्धि श्रेष्ठ जस्तै अरु संक्रमित पनि यसैगरी हाँसिखुशी घर फर्किउन् र संक्रमण न्यून सङख्यामै नियन्त्रण गर्न सकियो भन्ने कामना गर्दछौं ।”
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको श्रेष्ठले बताएकी छिन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।अब कोरना संक्रमण भएर अस्पतालमा उपचाररथ विरामी सङख्या २८ पुगेको छ ।