
चितवन, वैशाख ६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको चितवनको राप्ती नगरपालिका वडा नं.८ लाई शिल गरिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम बढेकोले वडालाई नै शिल गरिएको नगरपालिकाकी प्रमुख प्रभा बरालले नारायणी अनलाइनलाई जानकारी दिइन् ।
उनले भनिन्–‘चितवन प्रशासनलाई आग्रह गरेर वडालाई शिल गरेका छौं, मुख्य राजमार्गसंग जोडिएको सबै बाटो बन्द गरेका छौं ।’ यस्तै मेयर बरालले कोरोना संक्रमितसंग को–कसको भेट भयो भन्ने बारे खोजी कार्य जारी रहेको बताइन् ।
यस्तै वडा नं ८ का शंकास्पद व्यक्तिहरुलाई सोही वडाको क्वारेन्टाइनमा राखिने भएको छ । नगरपालिकाले ब्रहम्मानगर स्कुलमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाद्यान्नको जोहो गर्ने काम भइरहेको नगर प्रमुख बरालले बताइन् । सो क्वारेन्टाइनमा २०० जनालाई राख्न सक्ने क्षमता रहेको उनले बताइन् ।
सोही वडाका बेलायतबाट आएका ६३ वर्षीय महिला र २७ वर्षीय पुरुषको हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै राप्तीसंगै चितवनमै उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित पुष्टि भइसकेकाले जिल्लामा उच्च सतर्कता अपनाइएको नारायणी अनलाइनलाई बताए । उनले भने–‘संक्रमण देखिएको स्थानलाई शिल गरि सकेका छौं, कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।’ उनले सम्पूर्ण चितवनबासीलाई घरमै बसेर सतर्कता अपनाउन आग्रह गरेका छन् ।