
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हँदै नेपाल प्रवेश गरेको खुलेको छ ।
ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिनुभयो । उनीहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘१२ जनाको सो समूहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भन्नुभयो, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन् ।’
प्रहरीका अनुसार गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर आइपुगेका थिए । उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।
संक्रमितहरू २१ वर्षीय अनम ज़ैदी, दिल्ली, ४० वर्षीय मौ. सनउल्ला, दिल्ली, ३१ वर्षीय मौ. रिजवान, दिल्ली, २२ वर्षीय सनमान खान, उत्तर दिल्ली, २८ वर्षीय राशिक राउंड, दिल्ली, २५ वर्षीय मोहामिन्स, साउथ दिल्ली, २१ वर्षीय मौ. आसिफ, उत्तर दिल्ली, २८ वर्षीय सुदेव अहमत, बिजौर, २६ वर्षीय अहमत सइद, दक्षिण दिल्ली, २६ वर्षीय मौ. अबुबकर, दिल्ली, २८ वर्षीय मौ. जावैद, उतर प्रदेश र २५ वर्षीय आदिम अनवर, जामियनगर रहेका छन् ।
उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको प्रहरी प्रमुख मगरले बताउनुभयो । त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ प्रहरीले सिल गरेको छ ।
‘हामीले मस्जिदलाई सिल गरिसकेका छौँ’, मगरले भन्नुभयो, ‘यहाँबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाउँदैछौँ।’
संक्रमित १२ जना र अन्य ४ गरि १६ जनालाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ ।
र यो पनि पढ्नुहोस्
उदयपुरमा उपदेश दिँदै हिडेका थिए कोरोना संक्रमित, बस्ती नै प्रहरी घेरामा