
बहराइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
यससँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको शुक्रबार नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ।
उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन। त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप ४ नेपाली संक्रमित भएको पुष्टि भएको छ।
नेपालमा भने आज बेलुका मात्रै थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । जसमध्ये १२ जना उदयपुरको मस्दिजमा रहेका केही भारतीयहरु छन् भने २ जना गत चैत ३ मा बेलायतबाट कतार एयरवेजको विमानमार्फत नेपाल आएका चितवनमा आमा छोरा रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३० पुगेको छ ।
यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दिउँसको प्रेस बिफ्रिङपछिमात्रै काठमाडौँस्थित केन्द्रिय प्रयोगशालामा यसको परिक्षण भएकाले यसबारे केहिबेरमा औपचारिक जानकारी दिने तयारी भएको बताउनुभयो ।