
काठमान्डौ , बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका ८ की महाना जोशीले राम्रोसँग नसुतेको १५ दिनभन्दा बढी भइसक्यो । घरपरिवार चलाउन पैसा कमाएर घर आउँछु भनेका श्रीमान कोरोनाका कारण सीमामै अड्किएपछि महानालाई अहिले श्रीमानकै चिन्ता छ ।उनलाई एकातिर कामको चटारो छ भने अर्कोतिर घरको मुख्य मान्छे भारतीय क्वारेन्टाइनमा दुःख गरेर बस्नु परेको पीडा छ।महानाले भनिन्, ‘चुनावका बेला तपाईँको गाउँमा विकास ल्याउँछौं । बेरोजगारीलाई रोजगारी दिन्छौं भन्नेहरु ज्यालामजदुरी गरेर कमाएको पैसा सकिँदा समेत स्वदेश ल्याउन सोच्न पनि सक्दैनन,’उनले भनिन्।
‘क्वारेन्टाइनमा बसेको २० दिन भइसक्यो।अहिलेसम्म सीमाबाट ल्याउने कुनै पहल भएको छैन्,’उनले दुखेसो पोखिन। पुर्चौंडी ८ कै कृष्णा पाठक सरकारप्रति आक्रोश पोख्छिन्। ‘क्वारेन्टाइनमा दुई हप्ता बस्नुपर्छ भन्यो । दुई हप्तापछि त स्वदेश ल्याउलान भन्ने आस थियो । तर क्वारेन्टाइनमा बसेको २० दिन हुनै लाग्दा समेत श्रीमान घर आउने कुनै छाँटकाँट छैन, ‘उनले भनिन्, ‘अब गाउँमा गहुँ काट्ने, मकै छर्ने बेला भइसकेको छ । घरको काम कसरी चलाउने । भारतीय क्वारेन्टाइनमा बसेका श्रीमानले फोनबाट दुःखका कुरा सुन्दा खाना खाने मन लाग्दैन् ।’
यी सीमापारी अलपत्र रहेका नेपालीका आफन्त उदाहरण मात्रै हुन् । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा बैतडी, बझाङ लगायत जिल्लाका अढाई सय बढी मजदुर क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्न निकै असहज भएको उनीहरुले फोन मार्फत जानकारी गराइरहेका छन्। तर पनि उनीहरु कहिले फर्किन्छन् भन्ने विषयमा अझै टुंगो लागेको छैन् । ‘हामी धेरैजना एकै ठाउँमा बसिरहेका छौं । एकै ठाउँमा बस्दा कोरोनाभन्दा पनि अब अरु सरुवा रोगको हामीलाई डर छ । गर्मी बढ्दै गएको छ । खानेपानीको अभाव छ ।
कमाएको सानोतिनो खर्च पनि यतै सकिसकियो, ‘दोगडाकेदार ७ का हरिशप्रकाश भट्टले भने, ‘परिवार चलाउन केही कमाई गरेर घर फर्कुला सोचेको थिए तर हामी धेरै समस्यामा परेका छौं ।’भारतको झुलाघाट र धारचुलामा बैतडीका मात्रै ९ सय बढी मजदुर क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसिरहेका मजदुरका घरपरिवार अहिले निकै सकसमा छन् । बैतडीका पूर्णदेव भट्टले भने, ‘ यति बेला सरकार आफ्ना नागरिकको उचित व्यवस्थापनमा जाग्नुपर्छ।नागरिक समस्यामा छन् । सारा परिवार चिन्तामा छन् । उनीहरुको व्यवस्थापन सरकारले गर्नुपर्छ ?’