
काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको छ।
अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कुटपिट गरेका हुन्। अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको डाक्टरहरुले बताएका छन्।
कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीको लाठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरु बताउँछन्। प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको हो।
प्रहरीले लाठीले प्रहार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चोट लागेको छ। चोटपछि उनको अस्पतालमा एक्सरे गरिएको छ। एक्सरे क्रममा भाँचिएको अवस्था भने देखिएन तर सुन्निएको र रातो दाग रहेको डाक्टर खनालले जानकारी दिए। तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई नकुटिएको दाबी गर्छन्।
यसबारे जिज्ञासा राख्दा डिएसपी लम्सालले भने, ‘होइन कहाँ हामी डाक्टरलाई कुट्छौं। किन कुट्नु? त्यसो हुँदै होइन। यसैबीच त्रिवि शिक्षण अस्पतालका आवासिय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन्।
नेसनल रजिडेन्ट डक्टर्स एसोसिएसनले बुधबार राती विज्ञप्ति जारी गर्दै डाक्टरमाथि लाठीचार्ज र गालीगलौज गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही अगाडी बढाउन आह्वान गरेको हो। एसोसिएसनले कारबाहीको प्रक्रिया अगाडि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।