
लकडाउनपछि दार्जुला पारिको भारतीय सीमामा रोकिएका एक पुरुष आमा बितेको खबरपछि क्वारेन्टाइनमै किरिया बसेका छन।
आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनी दिनदिनै फोनमा परिवारसँग कुरा गर्थे। लकडाउन कहिले खुल्ने हो? लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनकी आमा सोध्थिन्- घर आउन कहिले दिन्छन् रे?
वासुदेवसँग आमाको प्रश्नको जवाफ हुन्थेन। तर कुनै न कुनै दिन त जान दिन्छन् होला भन्ने आश थियो।
मंगलबार साँझ पनि उनलाई घरबाट फोन आयो। त्यो फोन सधैँको जस्तो सामान्य थिएन।
यताबाट फोन गर्नेले भने- दाजु, आमा बित्नुभयो। ५५ वर्षकी उनकी आमालाई हृदयघात भएको थियो।
देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो। आमा सम्झिएँ, मन भरिएर आयो, उनी भक्कानिए।
सँगै बसेका साथीहरूले दार्चुलाका केही जनप्रतिनिधि र सिडिओलाई फोन गरे। उनीहरूको आशा थियो- आमा मर्दा त छोरालाई घर फर्किन दिन्छन् होला।
यता उनका साना भाइबहिनी पनि जेठो दाजु आउनुहुन्छ भन्ने आशमा थिए।
‘मैले हिजोदेखि सिडिओसाबलाई फोन गरेको गर्यै छु। कसैले फोन उठाउँदैनन्,’ बुधबार दिउँसो वासुदेवले सेतोपाटीसँग भने,’आफू परिसान भएको छु यिनीहरूको के राजनिति हो यो! आमाको किरिया पनि गर्न नपाउने भएँ।’
उनका चारभाइ छन्। जसमध्ये एक बैंग्लोरमा छन् अरू घरमै छन्।
रातभर कुर्दा पनि दाइ नआएपछि उनका भाइले बुधबार बिहान आमाको सतगद् गरेका छन्।
दार्चुलाको शैल्यशिखर नगरपालिका -१ का ३५ वर्षीय वासुदेव भट्ट आमा बितेको खरपछि क्वारेन्टाइमै किरिया बसेका हुन।
दार्जुला स्थित घरबाट फोन गएपछि सीमापारि बलुवाकोटमा रहेको क्वारेन्टाईनमै बासुदेव किरियामा छन्। बासुदेवकी आमाको मंगलवार निधन भएको हो।
आफ्नी आमाको अन्तिम संस्कारमा सरिक हुन प्रशासनसँग हारगुहार गरेपनि अहिलेसम्म कुनै पहल हुन सकेको छैन।
नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले उनलाई नेपाल आउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
सरकारले नेपाल प्रवेश गर्न नदिएपछि अहिले धेरै नेपाली सीमा नजिकै भारतीय क्वारेन्टाइनमा बस्दै आएका छन्।