
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण विश्वमा संक्रमितको संख्या २० लाख नजिक पुगेको छ। बुधवार बिहान १० बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या १९ लाख ९९ हजार ७ सय ८७ पुगेको छ। मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७ सय २८ पुगेको छ।
नेपाली समय अनुसार बुधवार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा २६ हजार ६४ पुगेको छ। मंगलवार यो संख्या २३ हजार ६४० थियो। अमेरिकामा संक्रमितको संख्या ६ लाख १४ हजार २ सय ११ पुगेको छ ।
बेलायतमा मृतकको संख्या १२ हजार १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ९३ हजार ८ सय ७३ पुगेको छ। कोरोनाका कारण इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २ सय ५५ तथा फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरवाट कोरोनाको संक्रमण शुरू भएको थियो। कोरोना नियन्त्रणमा आएको चीनमा मंगलवार ४६ नयाँ संक्रमण देखा परेका छन् भने १ जनाको मृत्यु भएको छ।
चीनमा संक्रमितको संख्या ८२ हजार २ सय ९५ पुगेको छ। चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४२ छ। कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डमिटरका अनुसार नेपालको दक्षिणी छिमेकी भारतमा बुधवार बिहानसम्म संक्रमतिको संख्या ११ हजार ४ सय ८७ पुगेको छ। बुधवारसम्म भारतमा ३ सय ९३ जनाको मृत्यु भएको छ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ। विश्वमा संक्रमित मध्ये ४ लाख ७८ हजार ९ सय ३४ निको भएका छन्।