
काठमाडौं । सरकारले भारतसँगको सीमा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो।
भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ। मोदीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन थप कसिलो बनाउँदै मे ३ सम्म जारी राख्ने बताएका थिए।
नेपालले पनि त्यतिबेलासम्म भारततर्फको सीमा बन्द नै राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
लकडाउन बैशाख १५ गतेसम्म
सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि जारी राखेको ‘लकडाउन’ आगामी १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै १८ वैशाखसम्म हवाइ उडानसमेत स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।
अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ ।