लोकेन्द्रप्रसाद जोशी । २ बैशाख, दार्चुला । महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका १ हजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ ।
जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा एकहजार बढी नेपाली राख्न सकिने नसकिने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिलाई निर्देशन गरेको छ ।
अहिले धारचुलामा दार्चुलाका २ सय २६ जना, बैतडीका ४ सय २२ जना, बझाङका २ सय ७१ जना, कैलालीका ६९ जना, डडेल्धुराका २३ जना, अछामका १८ जना, कञ्चनपुरका ११ जना, डोटीका १ जना, सुर्खेतका १५ जना, जाजरकोटका ३ र दैलेखका २ जना नेपाली रहेका छन् ।
सीमामा रोकिएका सबैलाई खलंगामा राख्न सकिने सम्भावना न्यून भएकाले धारचुलाबाट उद्धार गरेर सम्बन्धित जिल्लामा पठाउन केन्द्रिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडौंलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका ६४ जनालाई घर पठाइयो
झापाको काँकरभिट्टामा बेखर्ची भएका ६४ जना नेपालीलाई सोमबार उनीहरुको घर पठाइएको छ ।
दुईवटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना बोकेको एउटा बस काठमाडौं गएको छ भने ३६ जना बोकेको अर्को बस धनगढी पठाइएको मेचीनगर विपद् व्यवस्थापन समिति संयोजक टिका मंग्रातीले जानकारी दिए ।
बस खोज्न स्थानीय सरकार र प्रशासनले मदत पुर्याएको थियो ।
सबै यात्रुको र्यापिड किटमार्फत कोरोना टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
उनीहरु नुवाकोट, धादिङ, बाजुरा, बझाङ, जुम्ला, हुम्लाका हुन् । काँकरभिट्टाको होटलमा बसेका उनीहरु लकडाउन लम्बिएपछि बेखर्ची भएका थिए । केही दिनदेखि उनीहरुलाई होटल व्यवसायीहरुले निशुल्क खाना खुवाउँदै आएका थिए ।
भारतको विभन्न स्थानमा मजदुरी गर्ने नेपालीहरु लक डाउन हुनुभन्दा केही दिन अगाडी र कोही लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका थिए ।
प्रशासनको निगराीनमा उनीहरुलाई १४ दिन अगाडीदेखि विभिन्न होटलहरुमा क्वारेन्टाइनमा राखिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको समन्वयमा अलपत्रहरुलाई सम्बन्धित जिल्ला पठाइएको जानकारी दिए । ‘लामो समयदेखि अलपत्र भएर बेखर्ची बनेकाहरुलाई स्वास्थ्य जाँच पछि घर पठाएका हौं ।’