
काठमाडौं । दुई जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका बसिरहेको काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा ६१ जना विदेशबाट आएका मात्रै बसिरहेको खुलेको छ।
विदेशबाट आएकामध्ये अहिलेसम्म ५ जनाको मात्रै स्वास्थ्य परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको छ।
२८ दिनअघि बेलायतबाट फर्किएका ३ जनामा सोमबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरी पुनः परीक्षण गरिएको थियो। पुनः परीक्षणका क्रममा आज (मंगलबार) ८१ वर्षीया आमा र उनका ५८ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको हो।
बुहारीको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको परिवार सनसिटी अपार्टमेन्टको १५ औँ तल्लामा बस्दै आएको थियो। एकै परिवारका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रहरीले अपार्टमेन्टलाई नै सिल गरेको छ।
अपार्टमेन्टमा विदेशबाट आएका मात्रै ६१ जना
अपार्टमेन्टमा विदेशबाट आएका मात्रै ६१ जना बस्दै आएका छन्। विभिन्न मुलुकबाट आएका उनीहरुमध्ये सोमबार ५ जनाको परीक्षण भए पनि बाँकीको स्वास्थ्य परीक्षण गरिएको छैन। कतिपय विदेशबाट आएर पनि होइन भन्दै बसिरहेको हुनसक्ने भन्दै प्रहरी लगाएरै लगत संकलनको काम भइरहेको जनाएको छ।
अपार्टमेन्टमा बस्ने सबै जोखिममा
पेप्सीकोलाको उक्त सनसिटी अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका बताइएको छ। अपार्टमेन्टभित्र पाँच वटा भवनहरु छन्। एउटा भवनमा सय परिवार क्षमताको फ्ल्याट रहेका छन्। उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिका अनुसार ५ सय परिवार क्षमता रहे पनि हाल उक्त अपार्टमेन्टका केही फ्ल्याटहरु खाली छन्।
अपार्टमेन्टका सबैमा स्वास्थ्य परीक्षण गरिने
सरकारले अपार्टमेन्टमा बस्ने सबैको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ। अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबैमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने र अपार्टमेन्टलाई सिल गरेर सबैको स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
बस्छन् हाइप्रोफाइल व्यक्तिहरु
काठमाडौं को सनसीटीमा अर्थमन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा समेत रहँदै आएका थिए। ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा अहिले कति परिवार बस्दै आएको एकिन जानकारी नरहेपनि केहि हाइप्रोफाइल व्यक्तिहरु भने रहँदै आएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको पनि सोहि अपार्टमेन्टमा फ्ल्याट रहेको छ। राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसीटीमा फ्ल्याट रहेको छ। तर उनको त्यहाँ बसोबास भने नरहेको बताइएको छ।
एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान लगायतका व्यक्तिहरु पनि त्यहाँ रहँदै आएका थिए।