
काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणमा एकजुट भएर लाग्नुपर्ने समयमा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेकपा यतिबेला किचलोमै रुमलिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको शक्तिसन्तुलन र पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा कुरा नमिल्दा नेकपाभित्र आन्तरिक किचलो बढ्दै गएको हो ।
पार्टी एकता भएको करिब डेढ वर्ष बित्न नपाउँदै नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विवाद र किचलो चुलिएको छ । देश कोरोना संक्रमणको जोखिममा रहेको अवस्थामा नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने हो तर, आन्तरिक विवाद र खिचातानीले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत दूरी बढेको छ । अध्यक्षद्वय मात्र नभई पार्टीकै नेताहरुमा पनि असन्तुष्टि बढेको छ, उनीहरू सरकारको निर्णय र कामप्रति खुलेरै आलोचना गरिरहेका छन् ।
नेकपाको आन्तरिक विवाद यतिमै सीमित छैन । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीचको सम्बन्ध चिसिएको छ । शक्ति सन्तुलन नमिल्दा नेकपाभित्र आन्तरिक किचलो मौलाउँदै गएको विश्लेषण हुने गरेको छ ।
नेताबीचको शक्ति संघर्ष, शक्तिसन्तुलन, भागवण्डा, पार्टीको विधान, एकलौटी निर्णयजस्ता विषयले नेकपालाई थिलथिलो पार्न थालेको छ । अध्यक्षद्वयले पार्टीलाई लथालिंग पाराले चलाएको भन्दै धेरै नेता असन्तुष्ट छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने अनिकालमा घरभित्रका भाँडा बज्नु स्वाभाविक भएको प्रतिक्रिया दिइरहेका छन् ।
विवाद र गुटबन्दीमा अल्मलिने नभई सबै एकजुट भएर संकट सामना गर्ने वेला हो यो । तर सरकारको सञ्चालनको जिम्मेवारीमा रहेको नेकपाका नेताहरु आपसी किचलो र विवादमा फसिरहँदा मुलुकले कसरी संकटको सामना गर्न सक्ला ?
हेर्नुहोस भिडियो