
२ वैशाख, काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।
भारतमा दिनानुदिन संक्रमण हुनेको संख्या बढ्न थालेपछि भारतले लकडाउनको अवधी लम्बाएको हो । वितेको २४ घन्टामा भारतमा १२ सय ५० भन्दा बढी मानिसहरुमा संक्रमण भेटिएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संङख्या १० हजार ४ सय ५३ पुगेको छ। कोरोनाकै कारण हालसम्म भारतमा ३ सय ५८ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्ला दिन कोरोनाका संक्रमित बढ्ने क्रम हेर्दा भारत छिट्टै कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्ने खतरा बढेको छ। यसले नेपालमा पनि कोरोना भाइरसको खतरा बढाएको छ।
भारतमा १० लाखभन्दा बढी नेपाली रहँदै आएका छन्। तीमध्ये केही लाख नेपाली लकडाउन अघि र लकडाउनको समयमा नेपाल फर्केका छन्। अझै पनि ठूलो संख्यामा नेपालीहरु भारतमा रहेका छन्।
नेपालमा हालसम्म भेटिएका १४ जना कोरोना भाइरसका संक्रमितमध्ये धेरैको सम्बन्ध भारतसँग जोडिएको छ। केही भारतीयहरु लकडाउनका बेला पनि अवैध तरिकाले नेपाल प्रवेश गरेको र उनीहरुमा कोरोनाको संक्रमण भएको पाइएको छ। यसले नेपाललाई पनि खतरा रहेको स्पष्ट देखाएको छ। बेलैमा भारतसँगको सीमाबाट हुने आवतजावतलाई नियन्त्रण गर्न नसकिए यसले नेपालमा पनि भयावह अवस्था सिर्जना गर्ने स्पष्ट छ।