
टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीय वृद्धामा कोरोना पोजेटिभ देखिएको छ । उनले वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी थिइन् । गत चैत ९ गते उनीसहित अन्य १७ जना विरगन्जबाट कैलालीको लम्की गएका थिए ।
सुरुमा उनी भुरुवामा रहेको आफन्तको घरमा बसोबास गरेकी थिइन्। नेपाल भारत सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्न लगाएका थिए।
चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्यापिड टेष्ट गरेको थियो। र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो। क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्।
र्यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो। काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ। स्थानीय ललित जैशीले उनको गाउँमा आफ्नो घर नभएकाले आफन्तहरुको घरमा बस्दै आएको बताए।
स्वाब संकलन गरेका टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएको हो। ती महिलासहित ५१ जना लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
संक्रमण पुष्टि भएकी महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा राख्नका लागि लगिएको लम्की नगर पालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तर उनी पहिलेदेखि नै दमको रोगी रहेका बिसीले बताइन्।