
१ बैसाख २०७७ । काठमाडौं : बाग्लुङ जिल्लामा र्यापिड टेष्ट गर्दा एक महिलालाई कोरोना देखिएको खबर सेलाउन नपाउँदै कैलालीकी एक महिलामा पनि कोरोना देखिएको छ ।
कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। र्यापिड टेस्टमा नेगेटिभ देखिएपनि काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।
उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए। सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।
हिजो विरगन्जमा कोरोना संक्रमित भेटिएका ३ जना भारतीय नागरिकमा कसरी कोरोना संक्रमण भयो भन्ने उत्तर अहिलेसम्म पाउन सकिएको छैन । उनीहरुले प्रहरीमा दिएको बयानलाई आधार मान्नेहो भने उनीहरु ‘फागुन ३ देखि ५ गतेसम्म सप्तरी बोदेबसाइनमा भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका हौं । त्यसपछि नेपालको मोरङ, सुनसरी र सप्तरीका मस्जिदहरु घुमेर यहाँ (वीरगञ्ज) आएका हौं ।’
उनीहरुले स्थानीय प्रशासनलाई दिएको वयानमा भनेका छन्, ‘४ अप्रिलमा भारत फर्कन टिकट पनि काटिसकेका थियौं । तर, लकडाउनका कारण जान नपाएपछि वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्यौं ।’
के उनीहरुले भारतबाटै कोरोना लिएर आएका थिए वा नेपालमा आएपछी उनीहरुमा कोरोना संक्रमण फैलिएको हो । यदी उनीहरु नेपालमा आएपछि कोरोना संक्रमण फैलिएको हो भने नेपालको अवस्था चिन्ताजनक छ ।