
बोस्टन । अमेरिकाको मासाचुसेटस राज्यको बोस्टनमा एक सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ ।
अमेरिकी न्यूज च्यानल ‘सीएनएन’ का अनुसार बोस्टन मेडिकल सेन्टरले आफ्ना १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण परीक्षण नतिजा ‘पोजेटिभ’ पाइएको जनाएको छ ।
यस्तै, ‘ब्रिघम एण्ड वोमन्स’ हस्पिटलका ४५ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पाइएको सीएनएनले जनाएको छ ।
मासाचुसेटस जेनरल हस्पिटलमा कार्यरत ४१ स्वास्थ्यकर्मीमा पनि संक्रमण पाइएको छ ।
इटलीमा ३७ स्वास्थ्यकर्मीको मृत्यु
यसैबीच इटलीमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या ३७ पुगेको छ ।
त्यहाँका चिकित्सकहरुको पेशागत संगठनले जनाएअनुसार ३७ स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारमा संलग्न भएका कारण आफैँ संक्रमित भएर ज्यान गुमाउनु परेको हो ।
पछिल्लो समय कोरोनाभाइरसको निकै ठूलो प्रभाव देखिएको इटलीमा ७० हजार संक्रमित देखा पर्दा ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।