
काठमाडौं- वीरगञ्जमा चिकित्सा पेसाको अभ्यास गर्दै आएका डा मनोज रुङ्गटाले आफ्नो काका शिवशंकर रुंगटालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको बताएका छन्। नेपाल लाइभसँग कुराकानी गर्दै डा मनोजले भने, ‘शिवशंकर रुङ्गटा मेरो काका हुनुहुन्छ। उहाँको उमेर ६२/६३ वर्षको भएको हुनुपर्छ। काकाको स्क्रिनिङमा कोरोना पोजिटिभ देखियो, विस्तृत रिपोर्ट आएको छैन।’
केही दिनअघि भारत गएर आउनु भएको तर कुन कुन ठाउँ जानु भयो भन्ने आफूलाइ पनि यकिन नभएको बताएका छन्।
हामी अलगअलग घरमा बस्छौँ। पछिल्लो समय उहाँ भारतको पटनामा रहेको पिएमसिएच अस्पतालमा उपचार भइरहेको छ। उहाँको स्क्रिनिङ टेस्टमा कोरोनाको संकेत देखिएको भए पनि विस्तृत परीक्षण प्रतिवेदन आएको छैन।’
विस्तृत परीक्षणका लागि नमूना पुणे पठाइएको जानकारी पाएको डा मनोजले भने।
भारतमा उपचारका लागि जानुअघि उहाँले वीरगञ्जकै स्थानीय अस्पतालमा उपचार गराउनु भएको थियो।
शिवशंकरलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ४ दिन अघि पटना गएका रुंगटालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी आएको बताएका थिए।
नेपाल लाइभसँग कुरा गर्दै उनले यस विषयमा थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा एक टोली रुंगटाको घरमा पठाइएको जानकारी दिएका थिए।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले उनको अवस्था सुधारोन्मुख भएको जानकारी दिएका थिए।
‘वहाँलाई संक्रमण पोजेटिभ भएको बारे जानकारी आएको छ। वहाँ जुन अवस्थामा अस्पताल भर्ना हुनु भएको थियो त्यो भन्दा धेरै सुधार भएको जानकारी आएको छ,’ महानगर प्रमुख सरावगीको भनाइ थियो।