
काठमाडौं, ९ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाँक्नुभएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट नेपाल पनि अछुतो नरहेको यस समयमा सरकारले विभिन्न प्रतिबन्धात्मक नियमहरु लागू गरिसकेको छ ।
यसअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । त्यसपछि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
हाल समितिले कोरोना रोकथामका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । आज बस्न लागेको मन्त्रिपरिषद बैठकले हालसम्म सो समितिमार्फत भएका कामहरुको समीक्षा हुने र कोरोना लक्षित थप निर्णयहरु हुन सक्ने बताइएको छ।
त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक उहाँले आजै मन्त्रिपरिषद बैठक डाँक्नुभएकाे हाे ।