
इस्तयाक अहमद
सुनसरी : आफ्नो घरमा रहेका सिलाइ मेसिनमा घरभित्रै उपलब्ध कपडा काटेर तीन सयवटा मास्क बनाएर सुनसरीको भोक्राहा–नर्सिंग गाउँपालिकाका विभिन्न बस्तीहरुमा निःशुल्क वितरण गरेका असफाक अन्सारी थप कपडाको जोहो भएमा अझ मास्क बनाएर बिपन्न बस्तीहरुमा पुर्याउने योजनामा छन् ।
विश्व नै कोरोना भाइरस संक्रमण विरुद्ध लकडाउनको विषम परिस्थिति भोग्दै गर्दा अन्सारी भने घरभित्रै सिर्जनशील काममा जुटेका छन् । उनी भन्छन्, ‘जीवनको भरोसा छैन, कुन बेला के हुने हो, दुःखी र भयभित मानिसहरुलाई सेवा गर्नुभन्दा उत्तम काम अरु के नै होला र यति बेला ?’
सुनसरीका आफै विपन्नसरह असफाक मात्र होइन विपन्न वर्गका लागि हरेक नागरिकले सोच्ने र गर्ने बेला हो यो । असफाक पेसेवर सूचीकार होइनन् तर आफूले सिकेको सीपको प्रयोग गरेर मानव सेवा गरेका उनले सवैको आँखा खोलिदिएका छन् । लाखौं रुपैयाँ मूल्य पर्ने मास्कको कालाबजारी गरिरहेका व्यापारीहरुलाई असफाकले राम्रै पाठ सिकाएदिएका छन् । संघीय, प्रादेशिक र स्थानीय सरकारले गर्न नसकेको काम एउटा गाउँमा बस्ने असफाकले गरेर उदाहरण कायम गरिदिएका छन् ।
फेसबुकमा आसफाकको यस सामाजिक काम देखेर उनको सम्पर्क खोज्दै जाँदा यो पंतिकारलाई उनीसँग छोटो कुराकानी गर्ने मौका मिल्यो । उनले भने, ‘मसँग आयश्रोत भएको भए कम से कम वडा भित्रका सवै ज्यालादारी मजदुरहरुलाई खाद्यान्न आपूर्ति गर्ने थिएँ ।‘ बडो आत्मियताका साथ बोलिरहेका थिए असफाक । यस्तो विशाल हृदय भएका व्यक्ति आज पनि समाजमा रहेको प्रमाणित गरि दिए उनले ।
लकडाउनले सवैलाई असहज बनाए पनि विपन्न वर्गले भने यसबाट निकै ठूलो समस्याको सामना गर्नु परिरहेको छ । ज्याला मजदुरहरु, छाप्रोमा जीवन निर्वाह गरिरहेका अति गरीब र दलितहरुको अवस्थाको आंकलन सहजै गर्न सकिन्छ । केवल सरकारको मात्र मुख ताक्नु पनि कति संभव होला र ? त्यसैले त झन यति बेला गाउँ गाउँ र ठाउँ ठाउँमा खॉचो छ – असफाकहरुको ।