नेपालगन्ज : नेपाल एयरलाइन्सको स्वास्थ्यको सामान ल्याएर आएको कार्गो विमान शनिबार मध्यान्न १२ बजे नेपालगन्ज विमास्थलमा दुर्घटना हुनबाट बचेको भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार काठमाडौंबाट नेपालगन्जका लागि स्वास्थ्यका सामान र स्वाब लिन आएको विमान रनवेमा चिप्लिएर दक्षिणमा सय मिटर टाढा खेतमा पुगेको हो ।
विमानमा रहेका नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना डाक्टर, दुई जना विमान चालक र एकजना एयर होस्टेल सबै सकुशल छन् । विमानमा सामान्य क्षति मात्र पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबावु श्रेष्ठका अनुसार विमानमा खजुरा क्यान्सर अस्पतालको आइसोलेसनको सामान ल्याइएको थियो भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना आशंकित व्यक्तिको स्वाब विमानबाट काठमाडौं पठाइँदै थियो ।
विमान रनवेबाट चिप्लिएपछि स्वाब लिन अर्को विमान आउन लागेको श्रेष्ठले बताए । उनले भने, ‘डाक्टर साबहरु सबै अहिले त अस्पताल नै पुगिसक्नु भएको छ । हामीले सबै सामान ओसारिसकेका छौं । कसैलाई केही भएको छैन ।’