
धनगढी- धनगढीका एक ३४ वर्षीय युवा नेपालमा भेटिएका चौथो कोरोना संक्रमित हुन् । स्वास्थ्य मन्त्रालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको शुक्रबार जानकारी दिइएको थियो । उनी दुबईबाट फर्किएका थिए। उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा राखिएको छ । तिनै धनगढीका कोरोना संक्रमित युबा अस्पतालबाट यसो भन्छन- दुबईबाट २० मार्च (चैत ७ गते) विहान ७ बजे दिल्ली पुगें। दुबईबाट इमिरेटस्को फ्लाइट नम्बर इके० ५१० बाट दिल्ली आएको हुँ। दिल्लीबाट बिस्तार एयरलाइन्सको फ्लाइट नम्बर युके०१५५ को विमानमा साँझ ४ बजे काठमाडौं पुगेको थिए।
काठमाडौं विमानस्थलबाट मामाको छोरासँग मोटरसाइकलमा मामा घर पुगेको थिएँ। घरमा माइजु मात्र थिइन्। म मामाघरमा अलग्गै कोठामा बसेको थिए।२१ मार्च (चैत ८ गते) काठमाडौंबाट सिधै धनगढी आउने भनेको थिए। तर, टिकट नपाएपछि मैले नेपालगञ्जको टिकट काटे। काठमाडौंबाट नेपालगञ्जसम्म बुद्ध एयरको फ्लाइटमा पुगेको थिएँ। नेपालगञ्जको विमानस्थलदेखि म कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा अत्तरियासम्म पुगे। अत्तरियादेखि बस समातेर धनगढी पुगेको थिएँ।म दुबईमा खुद्रा पसलमा काम गर्दै आएको छु।
विगत चार वर्षदेखि म त्यहीँ काम गरिरहेको छु। म दुबईबाट बिदामा नेपाल दुई पटक आइसकेको थिएँ। अहिले विश्वभरी कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिइरहेकोले कम्पनीले नै एक महिना बिदा दिएर घर पठाएको थियो।कम्पनीमा काम गर्दा एसीमै बस्नुपर्ने थियो। त्यसैले रुघाखोकी प्राय लागिरहने गरेको थियो। दुबईबाट आउँदा मलाई रुघाखोकी केही थिएन। तर, धनगढी घर पुगेपछि सामान्य रुघाखोकी लाग्यो। श्रीमतीले १० गते राति उपचारमा जान सुझाब दिइन्।म श्रीमतीकै आग्रहमा ११ गते एक जना भाइ नाता पर्नेसँग मोटरसाइकलमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएँ।
११ गतेदेखि अस्पतालको आइसोलेसनमै म उपचाररत थिएँ। शुक्रबार ममा कोरोना भाइरस भएको पुष्टि भएपछि अहिले मलाई अस्पतालको शवदाह छेउमै रहेको कक्षमा एक्लै राखिएको छ। मेरो स्वास्थ्य अवस्था सामान्य नै छ। मलाई अलग्गै राखेदेखि अहिलेसम्म चेकजाँच गर्न भने कोही आएका छैनन्। अहिलेसम्म न त औषधि दिएका छन्, न त तातोपानीकै व्यवस्था गरेको छ। म चिसो पानी खाएर बसेको छु।