कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका भएको पुष्टि भएको छ ।
उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको जानकारी दिए ।
यस्तै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको थियो ।
डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।
यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।