काबुल । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानी समूहले जातिय अल्पसंख्यक समुदाय हजाराका निर्दोष १३ जनालाई हत्या गरेको छ। अफगानिस्तानमो दयाकुन्दी प्रान्तमा उनीहरुको हत्या गरिएको मानवअधिकारवादी संस्थाले जनाएको छ।
मानवअधिकारको पक्षमा वकालत गरिरहेको संस्था एम्नेस्टी इन्टरनेशलले तालिबानले अफगानिस्तान सत्ता कब्जा गरेपछि शिया समुदायका जातीय अल्पसंख्यक हजाराको हत्या गरेको एम्नेस्टीले जनाएको हो। तालिबानले शिया सम्प्रदायको सोच र सिद्धान्तलाई अस्वीकार गर्दछ।
एम्नेस्टीका अनुसार चरमपन्थी तालिबान समूहका लडाकूले दायाकुन्दी सुबेमा हजारा समुदायका १३ जनाको हत्या गरेको हो। जसमा १७ वर्षीया किशोरीसमेत रहेको जनाइएको छ।
बीबीसीका अनुसार तालिबानले भने एम्नेस्टीले बिना प्रमाण आरोप लगाएको भन्दै उक्त आरोप खारेज गरेको छ। एम्नेस्टीका अनुसार हत्या गरिएमा मध्ये नौ जना पूर्व अफगानी सेना रहेको र उनीहरुले केही समयअघि आत्मसर्मपण गरेका थिए।
हत्या गरिएका अन्य दुई जना सर्वसाधारण रहेका थिए। जसमा एक महिला रहेको बताइएको छ। तालिबानी समूहले पूर्व सैनिकको घरमा गोली चलाउने क्रममा ती महिलाको पनि मृत्यु भएको हो।
तालिबान एक अधिकारीको बदला लिने नियतका साथ उनीहरुको हत्या गरिएको बताइएको छ।