कैलालीमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका –५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
७५ वर्षीय पुरुषलाई १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको थियो । उनीहरू दुवै जनाले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको समेत श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
उनका अनुसार अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।